नेपाल टिम्बर एण्ड हर्ब्स कम्पनी प्रा.लि.को निजी वन व्यवस्थापन: एक सफल सिल्भिकल्चर अभ्यास
Ecoecopolitics Desk१ हप्ता अगाडि Silviculture Practice InPrivate Plantation final.png)
नेपाल टिम्बर एण्ड हर्ब्स कम्पनी प्रा.लि.ले बाँसगढी नगरपालिका–८, ठाकुरबाबा क्षेत्र, बर्दियामा करिब ५ बिगाहा जग्गा दीर्घकालीन लिजमा लिएर निजी वन विकास तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीले २०७५ सालदेखि युक्लिप्टस (Eucalyptus) प्रजातिको वृक्षारोपण गरी वैज्ञानिक वन व्यवस्थापन (Silviculture Practice) को माध्यमबाट उत्पादनमुखी निजी वनको नमुना स्थापना गरेको छ।
पृष्ठभूमि
उक्त क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोन नजिक अवस्थित भएकाले वन्यजन्तु, विशेषगरी चितुवाको आवतजावत हुने स्थानका रूपमा चिनिन्थ्यो। प्रारम्भिक चरणमा घना वृक्षारोपण (२ मिटर × १ मिटर दूरी) गरिएको थियो, जसले प्रकाश, पानी र पोषक तत्त्वका लागि अत्यधिक प्रतिस्पर्धा सिर्जना गरेको थियो। यस अवस्थालाई सुधार गर्न कम्पनीले वैज्ञानिक सिल्भिकल्चर अभ्यास अवलम्बन गर्यो।
उद्देश्यहरू
- युक्लिप्टस बिरुवाको द्रुत तथा गुणस्तरीय वृद्धि सुनिश्चित गर्ने।
- प्रकाश, पानी र पोषक तत्त्वको प्रतिस्पर्धा कम गर्ने।
- कृषिवन (Agroforestry) तथा एक्वाफरेष्ट्री (Aquaforestry) प्रणाली विकास गर्ने।
- निजी वन व्यवस्थापनको लागत घटाउने र आय वृद्धि गर्ने।
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने।
- निजी वन तथा करार खेतीलाई व्यावसायिक र वैधानिक रूपमा प्रवर्द्धन गर्ने।
अपनाइएका प्रमुख व्यवस्थापन अभ्यासहरू
कम्पनीले वन व्यवस्थापनका क्रममा निम्न सिल्भिकल्चर कार्यहरू सञ्चालन गरेको छः
- सम्बन्धित निकायबाट कटान तथा बिक्री स्वीकृति प्राप्त गर्ने।
- वैकल्पिक रूपमा एक पंक्ति हटाएर (Row Thinning) प्रकाश र खुला स्थान बढाउने।
- छाँटाइ (Pruning) गरी गुणस्तरीय काठ उत्पादनलाई प्रोत्साहन गर्ने।
- झारपात तथा अवाञ्छित प्रजाति नियन्त्रण गर्ने।
- सुकेका, रोगग्रस्त तथा कमजोर रूख हटाई छनौट कटान (Selection Thinning) गर्ने।
- नियन्त्रणित सरसफाइ तथा आगो व्यवस्थापन (Controlled Burning) अपनाउने।
- ६ मिटर चौडाइको पहुँच मार्ग तथा सतावरि खेतीका लागि स्थान व्यवस्थापन गर्ने।
प्राप्त उपलब्धिहरू
यस व्यवस्थापन अभ्यासबाट उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन्:
- करिब४०,००० किलोग्राम दाउरा उत्पादनतथा बिक्री।
- अवाञ्छित प्रजाति हटाई शुद्ध युक्लिप्टस वनको विकास।
- बिरुवाको दूरी २×१ मिटरबाट ४×१ मिटरमा विस्तार।
- सम्पूर्ण वन क्षेत्रमा पर्याप्त प्रकाश र हावाको पहुँच।
- वन ब्यवस्थापनका लागि अावश्यक ज्यामि खर्च दाउरा विक्रि वाट प्राप्त
- स्थानीय स्तरमा१२० मानव-दिन रोजगारीसिर्जना।
- सरकारलाई VAT तथा रोयल्टीमा योगदान।
- वार्षिक घरजग्गा तथा भाडा कर तिर्ने व्यवस्था।
- माछापालन, कृषिवन तथा अन्य उत्पादनमूलक गतिविधिका लागि आधार तयार।
वातावरणीय तथा सामाजिक प्रभाव
सिल्भिकल्चर अभ्यास लागू गरेपछि वन क्षेत्र बढी खुला, सुरक्षित र व्यवस्थापनयोग्य बनेको छ। प्रकाश र हावाको पर्याप्त पहुँचले रूखहरूको वृद्धि दरमा सुधार आएको छ। चितुवालगायत वन्यजन्तुको लुक्ने स्थान कम भई स्थानीय बासिन्दाको सुरक्षा अनुभूति बढेको छ। साथै कृषिवन र एक्वाफरेष्ट्री प्रणाली विकासका लागि आवश्यक पूर्वाधार तयार भएको छ।
निष्कर्ष
नेपाल टिम्बर एण्ड हर्ब्स कम्पनी प्रा.लि.को यो निजी वन व्यवस्थापन अभ्यासले वैज्ञानिक सिल्भिकल्चर, कृषिवन तथा बहुउद्देश्यीय भूमि उपयोगको सफल नमुना प्रस्तुत गरेको छ। नियमित थिनिङ, छाँटाइ तथा व्यवस्थापनका कारण वनको उत्पादकत्व वृद्धि भएको, व्यवस्थापन लागत घटेको र आर्थिक प्रतिफल प्राप्त भएको छ। यस मोडेलले नेपालमा निजी क्षेत्रद्वारा उत्पादनमुखी वन व्यवस्थापन, कार्बन व्यापार, कृषिवन तथा हरित उद्यम विकासका लागि महत्वपूर्ण उदाहरण प्रस्तुत गर्दछ।








