अनुदानको मल वितरणमा अनलाइन गर्न : कृषि मन्त्री डा. परियार
Ecoecopolitics Desk५ महिना अगाडि
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी अनुदानको रासायनिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित बनाउन अनलाइन प्रणाली विकास गर्न लागिएको बताएका छन्।
शनिबार पर्सा र बाराका कृषि तथा पशुपन्छी सम्बन्धित सरकारी कार्यालयहरूको निरीक्षणका क्रममा र किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा मन्त्री परियारले हालको मल वितरण प्रणालीमा देखिएका समस्या समाधानका लागि अनलाइन प्रणालीको तयारी भइरहेको बताए।
उनका अनुसार, नयाँ प्रणालीले कुन किसानले कति परिमाणको मल प्राप्त गरे भन्ने विवरण अनलाइनमार्फत स्पष्ट देखिनेछ, जसले अनियमितता र बदमासी घटाउने अपेक्षा गरिएको छ।
“सरकारले ठूलो धनराशि खर्च गरेर अनुदानमा मल उपलब्ध गराइरहेको छ, तर वितरणमा समस्या कायमै छ,” मन्त्री परियारले भने, “त्यही कमजोरी सुधार्न हामी अनलाइन प्रणालीको विकासमा जुटेका छौँ, जसले वास्तविक किसानले सहज रूपमा मल पाउनेछन्।”
मन्त्री परियारले मल वितरणमा संलग्न पालिका, सहकारी संस्था र डिलरसिप प्राप्त कम्पनीहरूको बदमासीका कारण वास्तविक किसान वञ्चित भएको बताउँदै त्यसमा सुधार ल्याउने प्रतिबद्धता जनाए।








