मनाङमा हराएका दुई भारतीय पर्यटक मृत फेला

Author ImageEcoecopolitics Desk९ महिना अगाडि
Image of मनाङमा हराएका दुई भारतीय पर्यटक मृत फेला

मनाङ — यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक मनाङमा मृत फेला परेका छन्। मृत फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन्।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा गएको उद्धार टोलीले आइतबार मिलेरेपा गुम्बाभन्दा करिब १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवैको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिएका छन्।

मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसेका ती दुवै पर्यटक कात्तिक ३ गते सोही गाउँपालिका–५ मा पर्ने मिलेरेपा गुम्बा घुम्न गएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए।

सम्पर्कविहीन भएपछि होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। निरन्तर खोजीपछि आइतबार दुवैको शव बरफमा फेला परेको अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रशासनले शव फेला परेको स्थानबाट निकाल्ने कार्य जारी रहेको जनाएको छ।