आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदै

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ । मधुमेहका जोखिम, रोकथाम तथा उपचारबारे जनचेतना फैलाउने लक्ष्यसहित आज नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाइँदैछ। विविध जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य परामर्श, निःशुल्क परीक्षण र संवादका कार्यक्रमहरू आज देशभर आयोजना भएका छन्।

 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि विश्वभर यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। मधुमेह नियन्त्रण तथा व्यवस्थापनका लागि प्रभावकारी राष्ट्रिय नीति निर्माण गर्न राष्ट्रसंघले सबै सदस्य देशहरूलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।

 

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए, जबकि सन् १९८० मा मात्र १० करोड जनामा यो समस्या देखिएको थियो। मोटोपना, अस्वस्थ जीवनशैली, प्रशोधित खानेकुराको बढी प्रयोग र शारीरिक गतिविधिको कमीले मधुमेह विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको WHO ले जनाएको छ।