नारायणघाट–बुटवल सडक खण्डमा राति मात्र विस्तारको काम हुने

Author ImageEcoecopolitics Desk९ महिना अगाडि
Image of नारायणघाट–बुटवल सडक खण्डमा राति मात्र विस्तारको काम हुने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोट क्षेत्रमा सडक विस्तार कार्य रातिको समयमा मात्र सञ्चालन भइरहेको छ। नारायणी पुलको पश्चिमतर्फ करिब १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले कार्य तीव्रता साथ अघि बढाइएको हो।

नारायणघाट–बुटवल सडक आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार प्रत्येक दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म काम भइरहेको छ।

“दिउँसो सवारी साधनको अत्यधिक चापका कारण जाम र ट्राफिक व्यवस्थापनमा समस्या देखियो, त्यसैले सहज वातावरणका लागि रातिमा काम सुरु गरिएको हो,” उनले बताए।

दिउँसो काम गर्दा लामो जाम सिर्जना हुने र यात्रा असहज हुने भएकाले ट्राफिक सुरक्षालाई ध्यानमा राख्दै रातिकै समय रोजिएको आयोजनाले जनाएको छ।

स्थानीयहरूका अनुसार रातिमा कम चापका बीच भइरहेको कामले सडक विस्तार छिटो पूरा हुने अपेक्षा गरिएको छ।