दीप प्रज्वलन र जाग्रामसहित भक्तजनद्वारा बालाचतुर्दशी पूजन
Ecoecopolitics Desk९ महिना अगाडि
मंसिर कृष्ण चतुर्दशी, अर्थात् बालाचतुर्दशीको अवसरमा आज पशुपतिनाथ क्षेत्र भक्तजनले पितृको सम्झनामा शतबीज छर्ने धार्मिक अनुष्ठान गरिरहेका छन्। यो दिनलाई शतबीज रोपण पर्वका रूपमा मनाइन्छ, जसमा दिवंगत आत्माको उद्धार तथा पितृलोक उज्यालो होस् भन्ने कामनासहित श्रद्धालुहरू बिहानैदेखि पशुपति क्षेत्र तथा विभिन्न शिवालयमा पुगेका छन्। अघिल्लो दिन मार्ग कृष्ण त्रयोदशीमा दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका भक्तजनहरूले आज चतुर्दशीको दिन धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सप्तबीज छर्दै मृगस्थली आसपास परिक्रमा गरेका छन्। मृगस्थलीस्थित गणेश मन्दिर नजिक पुग्दा मूर्तिलाई हल्का हल्लाउँदै दिवंगत पितृसमक्ष सन्देश पुगोस् भन्ने प्रार्थना गर्ने परम्परा आज पनि उत्तिकै जीवित छ। ‘शतबीउ छर्ने’ नामले चिनिने यस विधिले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास रहिआएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहानैदेखि तीर्थयात्रीको भीड बाक्लिँदै गएको छ, जहाँ भक्तजनले पितृप्रति कृतज्ञता व्यक्त गर्दै परिवारको कल्याण, दिवंगत आत्माको शान्ति र आध्यात्मिक शुद्धताको कामना गरेका छन्।








