राष्ट्रिय सुरक्षा परिषद्को बैठक : निर्वाचनका लागि सेना परिचालन गर्न सिफारिस

Author ImageEcoecopolitics Desk४ महिना अगाडि
Image of राष्ट्रिय सुरक्षा परिषद्को बैठक : निर्वाचनका लागि सेना परिचालन गर्न सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यले राष्ट्रिय सुरक्षा परिषद्ले सेना परिचालन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको परिषद्को ४१ औँ बैठकले मन्त्रिपरिषद्समक्ष सेना परिचालनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

 

बैठकपछि परिषद्का सदस्य–सचिव तथा रक्षा सचिव सुमन अर्यालले निर्वाचन सुरक्षालाई सर्वोपरी प्राथमिकता दिँदै यस्तो सिफारिस गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचन प्रक्रियामा सुरक्षा जोखिम नउब्जियोस् भन्ने उद्देश्यले सैनिक परिचालन आवश्यक ठहरिएको हो।

 

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए। बैठकमा बाराको सिमरामा देखा परेका पछिल्ला तनाव, समग्र शान्ति–सुरक्षा स्थिति र निर्वाचनसम्बन्धी तयारीबारे विस्तृत छलफल गरिएको थियो।

 

सरकार अब परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णयमार्फत सेना परिचालनको अन्तिम टुंगो लगाउनेछ।