कम बिलिङको खुलासा : किसान ठगिने, राज्यलाई अर्बौँ कर छली

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of कम बिलिङको खुलासा : किसान ठगिने, राज्यलाई अर्बौँ कर छली

अलैंची निर्यातमा किसानले पाएको मूल्यभन्दा करिब ६० प्रतिशत कम दरमा ‘अन्डर बिलिङ’ गरिएको पाइएको छ, जसले करोडौँ रुपैयाँ कर छली भएको मात्र नभई अर्बौँ बराबरको रकम हुण्डीमार्फत नेपाल भित्रने गरेको खुलासा भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ३ सय टन अलैंची ७ अर्ब ६८ करोड रुपैयाँमा निर्यात भएको थियो, तर चालु वर्षमा किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म मात्र पाएका छन्। कोशी प्रदेश अलैंची उत्पादनको मुख्य क्षेत्र मानिँदै आएको भए पनि किसानलाई दिइएको वास्तविक भुक्तानी र भन्सारमा देखाइने मूल्यबीच ठूलो अन्तर देखिन्छ।

 

व्यापारीहरूका अनुसार भारतीय व्यापारीहरूले वास्तविक खरिद मूल्य बराबरको बिल लिन नमानेपछि कम मूल्यको बिल बनाउन बाध्य छन्। भन्सारमा कम दर देखाए पनि भारतीय व्यापारीले प्रतिमन १ लाख २० हजार रुपैयाँभन्दा बढी तिर्छन्, तर ठूलो हिस्सा अनौपचारिक माध्यम अर्थात् हुण्डीमार्फत पठाइन्छ। झापाको काँकडभिट्टा नाकाबाट अवैध भारतीय नोट कारोबारको कडी पनि यही सन्दर्भमा जोडिएको दाबी गरिएको छ, जसले आयकर छलीसँगै प्रतिबन्धित भारतीय नोट नेपाल भित्रने जोखिम बढाएको छ।

 

यसबारे राजस्व अनुसन्धान तथा भन्सार निकायहरूले अहिलेसम्म ठोस अनुसन्धान नगरेका भए पनि अधिकारीहरूले अब ध्यान गएको बताएका छन्।