राष्ट्र बैंकले विशेष सुरक्षासहितको नयाँ १०० रुपैयाँ नोट बजारमा ल्यायो
Ecoecopolitics Desk८ महिना अगाडि
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि प्रचलनमा ल्याएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै साबिककै आकार र रङमा आएको यो नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त…’ भन्ने प्रतिज्ञामूलक वाक्यांश पनि समावेश गरिएको जनाएको छ। नयाँ नोटको बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँसको पानी छाप र मध्यभागमा नेपालको नक्सा तथा अशोक स्तम्भको चित्र राखिएको छ। दृष्टिविहीनले सहजै छामेर पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला पनि थपिएको छ।
यो नोटमा बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकले सजाइएको मायादेवीको चित्र राखिएको छ भने सुरक्षाका लागि २ मिमि चौडाइको विशेष सुरक्षा धागो समावेश गरिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काउँदा हरियो देखिन्छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागमा ‘वि.सं. २०८१’ को सिरिज नम्बर छापिएको छ। नयाँ सुरक्षात्मक प्रविधि र विशेषता जोडिएको यो नोट आजदेखि देशभर चलनचल्तीमा आएको राष्ट्र बैंकले जानकारी दिएको छ।









