मुद्दामा बहस गर्दै गर्दा रास्वपा निकट वकिल सुलभ खरेल संवैधानिक इजलासमै बेहोस

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of मुद्दामा बहस गर्दै गर्दा रास्वपा निकट वकिल सुलभ खरेल संवैधानिक इजलासमै बेहोस

प्रतिनिधिसभा विघटनविरुद्ध चलिरहेको मुद्दामा बहस गर्न सर्वोच्च अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी सुलभ खरेल संवैधानिक इजलासमै ढलेका छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको इजलासमा हलचल त्यतिबेला सिर्जना भयो, जब न्यायाधीशले सोधेको कडा प्रश्नको जवाफ दिन नसकेपछि खरेल अचानक बेहोस भए। प्रत्यक्षदर्शी वकिलका अनुसार खरेल संसद पुनर्स्थापनाको पक्षमा बहस गरिरहेका थिए।

इजलासमा न्यायाधीशले उनलाई भदौ २४ गतेको आगजनी र सर्वोच्च अदालतमा भएको तोडफोडबारे प्रश्न राखेका थिए। न्यायाधीशले भने, “अदालत जल्यो, अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने? आगजनीलाई उकास्ने तपाईंहरू, अनि पुनर्स्थापनाको माग?” यस्तो प्रश्न सुनेपछि खरेल ‘त्यस्तो होइन श्रीमान्’ भन्दै थरथर काम्न थाले र केही क्षणमै भुइँमा ढले।

खरेल ढल्दै गएपछि इजलासमा रहेका न्यायाधीशहरूले तुरुन्तै कर्मचारीलाई उनलाई अस्पताल लैजान निर्देशन दिए। उनलाई तत्कालै अस्पताल पुर्‍याइएको र अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

अमेरिकी विश्वविद्यालयबाट कानुन पढेका खरेल रास्वपामा सक्रिय मानिन्छन्। मंसिरमा हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवार बन्ने दाबेदार रहेका उनी अन्ततः टिकट नपाई लेखजंग थापा चयन भएका थिए। भदौ २४ को ‘महाविध्वंस’का बेलासँगै खरेलसहित रास्वपाका केही नेतामाथि सामाजिक सञ्जालमार्फत आन्दोलन उकासेको आरोप लागेको थियो।