मुख्यमन्त्री यादवको राजीनामापछि सत्ता समीकरण फेरबदल, कांग्रेस–लोसपा दुवैको दाबी
Ecoecopolitics Desk१ हप्ता अगाडि
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बन्दै गएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नलिँदै राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन्। सात दलीय गठबन्धनमा रहेका दलहरूले नेतृत्वको दाबी राखे पनि सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
गठबन्धनभित्र नेतृत्वका विषयमा व्यापक कसरत भइरहेको छ। माओवादी केन्द्रका नेता भरत साहका अनुसार सबै दलले सरकारको नेतृत्व गर्न चाहनु स्वाभाविक भए पनि अन्तिम निर्णय सामूहिक छलफलबाट हुनेछ। यसअघि पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए, तर विश्वासको मतको प्रक्रियाअघि नै उनले राजीनामा दिएपछि एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए। यादवको नियुक्ति अवैधानिक भएको दाबी गर्दै सात दल सर्वोच्च अदालत पुगेपछि राजनीतिक तनाव झनै बढेको थियो।
लोसपाले अब पुनः नेतृत्व आफ्नो हुने दाबी गरेको छ। पार्टीका महासचिव डा. सुरेन्द्र झाका अनुसार सोनलले विशेष परिस्थितिमा राजीनामा दिएको र त्यसका साक्षी गठबन्धनका सबै दल रहेको भन्दै पहिलो दाबी लोसपाको हुनुपर्ने तर्क छ। तर नेपाली कांग्रेसले गठबन्धनभित्र ठूलो दलको हैसियत राख्दै अहिले आफ्नो पालो आएको दाबी गर्दै आएको छ। कांग्रेसका नेता कृष्ण यादव भन्छन्, सबै दलले पालो–पालो सरकार चलाइसकेकाले अब कांग्रेसको नेतृत्व स्वाभाविक छ।
अन्य दलहरूले भने कांग्रेसकै कारण आजको अवस्था बनेको आरोप लगाइरहेका छन्। जसपा नेपालका नेताहरूका अनुसार कांग्रेसले सुरुमा गठबन्धनमा आएर सोनललाई विश्वासको मत दिएको भए अहिलेको जटिलता सिर्जना हुने थिएन। अब सात दलीय गठबन्धनभित्र ‘प्याकेज सहमति’ मार्फत सभामुख, मुख्यमन्त्री, मन्त्री र आयोगका पदहरू मिलाएर मात्र समाधान खोजिने संकेत माओवादीले दिएको छ। प्रदेशमा शक्ति-समीकरणको नयाँ रुप कस्तो बन्छ भन्ने विषयमा दलहरूबीचको आज र भोलिको छलफल निर्णायक हुने देखिएको छ।



.jpeg)



