एनपिएलमा विराटनगर किंग्सको सनसनीपूर्ण जित, पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग भिड्ने
Ecoecopolitics Desk८ महिना अगाडि
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। १४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नु पर्ने अवस्थालाई विराटनगरले ११.५ ओभरमै सम्भव बनाउँदै उत्कृष्ट जित हात पारेको हो।
जितसँगै विराटनगर १० अंकसहित अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। समान १० अंक भएकामा पनि रन–रेटमा पछि परेपछि काठमान्डु गोर्खाज तेस्रो स्थानमा रह्यो। १२ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमै कायम छ भने ८ अंकसहित लुम्बिनी लायन्स चौथो स्थानमा छ।
अब पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम र विराटनगर भिड्नेछन्। जित निकाल्ने टोलीले शनिबारको फाइनलमा स्थान पाउनेछ भने हार्ने टोलीले बिहीबार दोस्रो क्वालिफायरबाट फाइनल पुग्ने मौका पाउनेछ। बुधबार इलिमिनेटरमा काठमान्डु र लुम्बिनी भिड्नेछन्।








