पाटन दरबार क्षेत्र अवलोकन गर्दै मन्त्री खरेलको सम्पदा संरक्षणमा जोड
Ecoecopolitics Desk६ महिना अगाडि
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति, ऐतिहासिक सम्पदा र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको बताएका छन्। पाटन दरबार क्षेत्रको आइतवार गरेको अवलोकनका क्रममा उनले परम्परागत सम्पदा, कला र संस्कृतिको जगेर्ना गर्दै नेपाललाई विश्वसामु प्रवर्द्धन गर्न सरकार प्राथमिकतासहित अघि बढिरहेको बताए।
अवलोकनका क्रममा मन्त्री खरेलले ललितपुरको सांस्कृतिक तथा खाना संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए। विविध जातजाति, भाषा र संस्कृतिबाट समृद्ध ललितपुरलाई ‘सम्पदा शहर’का रूपमा देश–विदेशमा चिनाइएकाले यसको संरक्षणमा संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अत्यावश्यक हुने उनको धारणा थियो।.jpeg)
मन्त्री खरेलले ऐतिहासिक कृष्ण मन्दिर, पाटन दरबार संग्रहालय, सुन्दरी चोक, मूल चोक, केशवनारायण चोक र भण्डारखाल परिसरलगायत स्थानहरूको अवलोकन गर्दै त्यहाँ रहेका पुरातात्विक तथा सांस्कृतिक सम्पदाबारे जानकारी लिए। संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले पाटन दरबार क्षेत्रको ऐतिहासिक महत्त्वबारे विस्तृत जानकारी गराएका थिए।
संग्रहालय परिसरमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभल’ पनि मन्त्री खरेलले अवलोकन गरे। आयोजकका अनुसार पाँचदिने प्रदर्शनीमा परम्परागत कला, हस्तकला र सांस्कृतिक पहिचान झल्काउने सामग्रीहरू प्रदर्शन गरिएको छ। इतिहासमै ‘युगग्राम’, ‘यल’, ‘ललितपतन’ जस्ता नामले परिचित पाटन आज पनि उपत्यकाको सबैभन्दा पुरानो सांस्कृतिक शहरका रूपमा मानिन्छ।








