कांग्रेस बैतडी सभापति तथा क्यान अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of कांग्रेस बैतडी सभापति तथा क्यान अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

नेपाली कांग्रेस बैतडीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा सिफारिस हुने उम्मेदवारहरूको टुंगो लगाएको छ। आन्तरिक निर्वाचन प्रक्रियामार्फत पुरुषतर्फ अधिकतम दुई नाम सिफारिस गर्ने केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्ला कार्यसमितिले उम्मेदवार छनोट गरेको हो।

 

जिल्ला सभापति चतुरबहादुर चन्द र पूर्वमहासमिति सदस्य विष्णुदत्त जोशी पुरुषतर्फका सिफारिस सूचिमा परेका छन्। महिलातर्फ भने महासमिति सदस्य जानकी भट्टको नाममा सहमति जुटाइएको कांग्रेस बैतडीले जनाएको छ।

सभापति चन्दका अनुसार ८२ जनाको उपस्थिति रहेको बैठकमा ७३ मत खसेको थियो। चन्द स्वयंले शतप्रतिशत मत प्राप्त गरेका छन्। जोशीले ४५ मत पाएका थिए भने अन्य आकांक्षी—उत्तरबहादुर ऐरले ६, बीरबहादुर विष्टले ४, तेजबहादुर चन्दले ३ र नरबहादुर चन्दले शून्य मत पाएका थिए।

सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाको नाम आजै प्रदेशमा सिफारिस गरिने चन्दले बताए।

तर, चुनावी प्रक्रियाबाट नाम छानिएको भन्दै कांग्रेस बैतडीभित्र असन्तुष्टि तीव्र बन्दै गएको छ। जिल्लास्थरमा प्रभावशाली मानिने नेताहरू—नरबहादुर चन्द, उत्तरबहादुर ऐर, वीरबहादुर विष्ट, तेजबहादुर चन्द र नन्दराज भट्टले संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका छन्।

विज्ञप्तिमा उनीहरूले छलफलमै सहमति जुटाउने प्रक्रिया जारी रहेको बेला ‘हठात् रूपमा’ सभापतिपक्षले निर्वाचनको बाटो अपनाउनु इतिहासमा नदेखिएको कदम भएको आरोप लगाएका

लोकतन्त्र र पार्टी संगठनलाई मजबुत बनाउन बृहत् छलफल र सहमतिको आवश्यकता हुँदाहुँदै एकाएक निर्वाचनमा जानु पार्टी हितविपरीत छ,’ विज्ञप्तिमा उल्लेख छ। उनीहरूले पुनः छलफल र सहमतिमै उम्मेदवारको नाम टुंगो लगाउन आग्रह गरेका छन्।