कांग्रेस मुगुले ऐनबहादुर शाही ठकुरीलाई ‘फस्ट च्वाइस’ बनाउँदै प्रत्यक्षतर्फ प्रस्ताव

Author ImageEcoecopolitics Desk४ दिन अगाडि
Image of कांग्रेस मुगुले ऐनबहादुर शाही ठकुरीलाई ‘फस्ट च्वाइस’ बनाउँदै प्रत्यक्षतर्फ प्रस्ताव

मुगु — कांग्रेस मुगुले फागुन २१ को निर्वाचनका लागि सिफारिस गरेको नामसूची सार्वजनिक भएपछि जिल्लाभर ऐनबहादुर शाही ठकुरीको नाम फेरि केन्द्रमा छाएको छ।

विभिन्न गाउँबाट आएका कार्यकर्ताहरूले “ठकुरी नै हाम्रो पहिलो रोजाइ” भन्दै बैठकमा जोड दिएपछि उनी प्रत्यक्षतर्फ प्रमुख उम्मेदवारको रूपमा अघि सरेका हुन्। मन्त्री भएर गरेको काम, स्थानीय विकासमा गरेका पहल तथा जनस्तरसँगको निरन्तर सम्पर्कले उनलाई जिल्लामा ‘सबैभन्दा सम्भावित उम्मेदवार’ बनाएको कार्यकर्ताहरू बताउँछन्।

साथै, पूर्व पार्टी सभापति खडकबहादुर शाही र महिलातर्फबाट रमाइली रावललाई पनि प्रत्यक्ष उम्मेदवार सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ।

समानुपातिकतर्फ मुगुबाट कला, समाजसेवा तथा राजनीतिक विविधतामा सक्रिय व्यक्तित्वहरूको सहभागिता देखिएको छ। कालोपोथी फिल्मका निर्देशक मीन भाम, भिम तिरुवा तथा केशरकला मल्लको नाम समानुपातिक कोटामा प्रस्ताव गरिएका छन्।

त्यस्तै, राष्ट्रिय सभाका लागि जिल्लाबाट नेपाली कांग्रेस नेता तथा पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस गरिएको छ।

जिल्ला सभापति तथा नेताहरुले आगामी निर्वाचनमा कांग्रेसलाई सशक्तरूपमा उभ्याउने रणनीति अनुसार अनुभव, जनसम्पर्क र लोकप्रियताको आधारमा नाम सिफारिस गरिएको बताएका छन्।