एमाले ११औँ महाधिवेशनः आजदेखि भृकुटीमण्डपमा बन्दसत्र, नयाँ नेतृत्व चयन सुरु
Ecoecopolitics Desk२ दिन अगाडि
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि बिहान ७ः३० बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ।
शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट औपचारिक रूपमा नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो। बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले अध्यक्ष एक, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।
महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ। साथै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।
नेतृत्व चयन सहमतिमै टुंग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ। सहमति जुट्न नसके मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिनेछ। त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ, जसको परीक्षण शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरिएको थियो।






