पूर्वी पहाडको सुन्तला सीजन सुरु, धरानमा व्यापार ३० प्रतिशतले बृदि

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of पूर्वी पहाडको सुन्तला सीजन सुरु, धरानमा व्यापार ३० प्रतिशतले बृदि

धरान । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा, पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट उत्पादन भएको सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि भित्रिन थालेको छ। धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार गत वर्षको तुलनामा यस वर्ष कात्तिक–मङ्सिरमै करिब २५ प्रतिशत बढी सुन्तला बजारमा भित्रिएको छ।

अध्यक्ष भट्टराईले यस वर्ष सुन्तलाको कारोबारमा करिब ३० प्रतिशतले वृद्धि भएको जानकारी दिँदै अहिले बिक्री राम्रो भइरहेको बताए। “बिक्री बढ्नु किसान र उपभोक्ता दुवैका लागि सकारात्मक हो,” उनले भने। पछिल्लो समय सुन्तला खेतीको क्षेत्र विस्तार भएको कारण कारोबार बढेको उनको भनाइ छ। कात्तिक १५ गतेदेखि सुन्तला बजारमा आउन सुरु भई चैतको दोस्रो सातासम्म आपूर्ति रहने उनले जानकारी दिए।

ढुवानी व्यवस्थित गर्ने, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिन सके कोशी करिडोरको सुन्तला स्वादिलो र मीठो भएकाले बजार विस्तार अझ प्रभावकारी हुने अध्यक्ष भट्टराईको धारणा छ। भोजपुरका किसान प्रदीप राईले विगत १३ वर्षदेखि सुन्तला व्यवसाय गर्दै आएको बताउँदै यस वर्ष उत्पादन उल्लेख्य रूपमा बढेको बताए। “हरेक वर्ष २०–३० मेट्रिक टन बिक्री गर्थें, गत वर्ष १६ मेट्रिक टन मात्र उत्पादन भयो। तर यस वर्ष दुई महिनामै १२ मेट्रिक टनभन्दा बढी बिक्री भइसकेको छ,” उनले भने। मूल्य यथावत् रहे पनि उत्पादन वृद्धि भएकाले आम्दानी राम्रै हुने अपेक्षा किसानहरूको छ।