रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ : हर्क साम्पाङ

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ : हर्क साम्पाङ

सोलुखुम्बु — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङसँग कुनै पनि हालतमा सहकार्य नगर्ने स्पष्ट पारेका छन्। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शुक्रबार आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले ती तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोप लगाए।

देशको माटोसँग सम्झौता नगर्ने दाबी गर्दै साम्पाङले आउँदो चुनावमा एक्लै होमिने उद्घोष गरे। उनले एक्लै चुनाव लडेर उल्लेख्य सिट ल्याउने जिकिरसमेत गरे। भाषणको अधिकांश समय नयाँ शक्तिहरूको आलोचनामा बिताएका उनले पुराना शक्तिहरूले देश दोहन गरिरहेको र नयाँ शक्तिहरूले विदेशीको रणभूमि बनाइरहेको दाबी गरे।

आफू मात्र देशको सच्चा शक्ति भएको दाबी गर्दै साम्पाङले आत्मनिर्भरता बढाउने अभियान नै आफ्नो मुख्य एजेन्डा रहेको बताए। विदेशी उत्पादनमा बढ्दो परनिर्भरता घटाउन श्रम संस्कृतिमार्फत स्वदेशलाई आत्मनिर्भर बनाउने दिशामा आफ्नो पार्टीले भूमिका खेल्ने उनले बताए।

कार्यक्रममा जिल्लाका पुराना वामपन्थी नेता भिम किराँतले श्रम संस्कृति पार्टीमा सामेल भएको घोषणा गरेका छन्।