धनुषामा बाक्लो हुस्सु र शीतलहरका कारण ट्राफिक सचेतना अभियान

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of धनुषामा बाक्लो हुस्सु र शीतलहरका कारण ट्राफिक सचेतना अभियान

जनकपुरधाम।बाक्लो हुस्सु र शीतलहरका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि धनुषा जिल्लामा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ‘सडक दुर्घटना विरुद्ध युवा–२०८२’ कार्ययोजनाअन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

अभियानअन्तर्गत सवारी साधनहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसिनुका साथै चालक, सहचालक र यात्रुहरूलाई सडक सुरक्षासम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको छ। कार्यक्रममार्फत हुस्सु तथा कम दृश्यताको अवस्थामा अपनाउनुपर्ने सावधानी, रक्षात्मक सवारी चलाउने तरिका, ट्राफिक नियम र सडक अनुशासन, जिम्मेवार सवारी संस्कृतिको विकास तथा कानुनी पक्षबारे प्रशिक्षण र सचेतना दिइएको जनाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई आग्रह गरेका छन्।