ट्रम्प–सी जिनपिङ शिखर बैठक ‘अद्भुत’ : शुल्क दर घटाउने, फेन्टानिल नियन्त्रण, सोयाबिन व्यापार पुनः सुरु र टिकटकको भविष्यबारे छलफल

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of ट्रम्प–सी जिनपिङ शिखर बैठक ‘अद्भुत’ : शुल्क दर घटाउने, फेन्टानिल नियन्त्रण, सोयाबिन व्यापार पुनः सुरु र टिकटकको भविष्यबारे छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण कोरियामा सम्पन्न शिखर बैठकलाई “अद्भुत” र “उत्कृष्ट निर्णयहरूको समूह” भएको बताएका छन्। एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुबै नेताबीचका वार्तालाई ऐतिहासिक करार दिएका हुन्।

 

ट्रम्पका अनुसार, अमेरिकाले चीनबाट आयात हुने सामानमा लगाइएको शुल्क दर ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ। यसको सट्टामा चीनले फेन्टानिल उत्पादनमा प्रयोग हुने रासायनिक पदार्थहरूको अवैध प्रवाह नियन्त्रण गर्न ठोस कदम चाल्ने सहमति जनाएको छ।

 

चीनले अमेरिकी सोयाबिन खरिद तत्काल पुनः सुरु गर्ने र दुर्लभ खनिज (rare earth)को निर्यात निरन्तरता दिने पनि सहमति भएको ट्रम्पले बताएका छन्।

 

राष्ट्रपति ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र त्यसपछि राष्ट्रपति सी जिनपिङ पनि अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेको बताएका छन्।

 

हाल ट्रम्प वाशिङ्टन डीसी फर्किने क्रममा छन् भने राष्ट्रपति सी जिनपिङ एशिया–प्रशान्त आर्थिक सहकार्य (APEC)शिखर सम्मेलनमा सम्बोधन गर्न तयारीरत छन्। बैठकबारे चीनले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

 

यसअघि यो महिनामै ट्रम्पले चीनले दुर्लभ खनिज निर्यातमा नयाँ विश्वव्यापी प्रतिबन्ध लगाएको भन्दै चिनियाँ सामानमा १०० प्रतिशतसम्म शुल्क लगाउने चेतावनी दिएका थिए। तर, पछिल्लो सहमतिले दुबै देशबीचको व्यापारिक सम्बन्धमा सकारात्मक मोड ल्याएको विश्लेषकहरूले बताएका छन्।

 

बैठकका प्रमुख विषयहरू:

·      फेन्टानिल उत्पादनमा प्रयोग हुने रासायनिक पदार्थहरूको अवैध प्रवाह रोक्ने उपाय

·      कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक सेमीकन्डक्टर आपूर्ति

·      सामाजिक सञ्जालटिकटकको भविष्य र सञ्चालन अधिकारबारे छलफल

·      अमेरिकी सामान (विशेषतः सोयाबिन) खरिद पुनः सुरु गर्ने सहमति

·      दुर्लभ खनिज (rare earth)निर्यात निरन्तरता दिने आश्वासन

·      आगामी ट्रम्प र सी जिनपिङका पारस्परिक भ्रमण कार्यक्रम