विशेष महाधिवेशन पक्षधरपछि नियमित महाधिवेशन समर्थक को भेला

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of विशेष महाधिवेशन पक्षधरपछि नियमित महाधिवेशन समर्थक को भेला

नेपाली कांग्रेसभित्र विशेष र नियमित महाधिवेशनबारेको विवाद अझ गहिरिँदै गएको छ। विशेष महाधिवेशन पक्षधरहरूले हालै भेला सम्पन्न गरेपछि अब नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार काठमाडौंमा भेला आयोजना गर्न लागेका छन्।

पार्टीका स्रोतका अनुसार नियमित महाधिवेशनको पक्षमा उभिएका नेताहरूले बिहीबार बिहान ११ बजे अनुपम फुडल्याण्डमा भेला बोलाएका छन्।

यो भेलाको उद्देश्य पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्दै महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्नुपर्ने मागलाई बलियो बनाउने रहेको छ।

हाल नेपाली कांग्रेसभित्र दुई धारहरू देखिएका छन्—एक समूहले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै आएको छ भने, अर्को समूहले नियमित महाधिवेशनमै जाने पक्ष लिएको छ।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समूहले विशेष महाधिवेशनको माग गर्दै पार्टीभित्र हस्ताक्षर संकलन अभियान चलाएको थियो। सो अभियान अन्तर्गत संकलित हस्ताक्षरहरू गत २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएकोथियो।

त्यसपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा दुवै धारका नेताहरूले आफ्ना-आफ्ना कार्यतालिका पेस गरेका थिए।

तर पार्टीले अहिलेसम्म न त विशेष महाधिवेशन न त नियमित महाधिवेशनबारे अन्तिम निर्णय गरेको छ।

भेलाबाट महाधिवेशन समयमै गर्नुपर्ने दबाब सशक्त रूपमा अघि सारिने बताइएको छ।

पार्टीका एक वरिष्ठ नेताले भने, “कांग्रेसलाई बलियो बनाउन आन्तरिक एकता र संस्थागत प्रक्रिया महत्त्वपूर्ण छ। त्यसैले अबमहाधिवेशन ढिलाइ गर्नु हुँदैन।”

यससँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व प्रतिस्पर्धा फेरि तात्न थालेको संकेत देखिएको छ।