आइतबारदेखि काठमाडौं महानगरको ‘एक्सन’ सुरु, हुने सुकुम्बासीमाथि कडा कदमको संकेत

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of आइतबारदेखि काठमाडौं महानगरको ‘एक्सन’ सुरु, हुने सुकुम्बासीमाथि कडा कदमको संकेत

काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन दिएको सातदिने निर्देशन शुक्रबार सकिँदैछ। आइतबारदेखि ‘एक्सन’मा जाने तयारी भइरहेको महानगरका नगर–प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार अभियानको सुरूवात धोबीखोलाबाट हुनेछ र त्यसपछि अन्य क्षेत्रका अतिक्रमित जग्गा खाली गराइनेछ।

तर सुकुम्बासी अभियानीहरूले भने महानगर र सरोकारवाला निकायले दीर्घकालीन समाधानभन्दा जबर्जस्ती हटाउने कार्यमा जोड दिँदा समस्या झन् बल्झिएको आरोप लगाएका छन्। अभियानी नारायण परिश्रमीका अनुसार “महानगरले भूमि आयोगलाई कानुन अनुसार काम गर्न दिएको भए समस्या उहिल्यै समाधान हुनेथियो।” उनले ऐन–कानुन लत्याएर बल प्रयोग गरेर हटाउने तयारी अस्वीकार्य रहेको बताए।

 

भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालका अनुसार काठमाडौंमा कति सुकुम्बासी छन् भन्ने तथ्यांक अझै स्पष्ट छैन। महानगरले आयोगसँग सम्झौता गरे पनि फारम संकलन नगरेका कारण वास्तविक लगत निस्किन सकेको छैन। आयोग विघटन र सर्वोच्च अदालतको आदेशका कारण यसको काम अवरुद्ध छ। कानुनले वैकल्पिक व्यवस्था बिना सुकुम्बासी हटाउन नपाइने व्यवस्था गरेको भए पनि महानगर र निकायबीच समन्वय नहुँदा काठमाडौंमा सुकुम्बासी समस्या अझ गम्भीर बनेको छ।