काठमाडौँ महानगरको ‘डिजिटल साक्षरता’ प्रशिक्षण सुरू, साइबर सुरक्षा जागरूकतामा जोड
Ecoecopolitics Desk४ महिना अगाडि
काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवा र इन्टरनेट सुरक्षित रूपमा प्रयोग गर्न सक्षम बनाउन डिजिटलसाक्षरतासम्बन्धी व्यापक प्रशिक्षण सुरू गर्ने भएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बढ्दो प्रविधि प्रयोगसँगै उत्पन्न हुने जोखिम रोक्न र नागरिकलाई सही र सुरक्षित डिजिटल ज्ञान दिन यो कार्यक्रम प्रारम्भ गरिएको हो।
कामपाले पहिलो चरणमा वडा नं. १७, १८, १९ र २९ मा प्रशिक्षण सुरू गरेर क्रमशः अन्य वडामा विस्तार गरिने जनाएको छ। सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार प्रशिक्षण आधारभूत, मध्यम र विशिष्ट तीन तहमा सञ्चालन हुनेछ, जसमा स्मार्टफोन सेटिङ, एप्लिकेसन जोखिम पहिचान, वाइफाइ सुरक्षा, डाटा संरक्षण जस्ता व्यावहारिक विषय समेटिनेछन्।
डिजिटल वित्तीय साक्षरता, अनलाइन भुक्तानीमा हुने ठगी पहिचान, बलियो पासवर्ड, OTP प्रयोग, भाइरस–एन्टिभाइरस सुरक्षा, शंकास्पद लिङ्कबाट बच्ने तरिका जस्ता साइबर सुरक्षा सम्बन्धी विषय प्रत्येक सहभागीलाई सिकाइने कामपाको भनाइ छ। महानगरले नागरिकलाई आत्मविश्वासका साथ प्रविधि चलाउन सक्ने बनाइने भन्दै यो कार्यक्रम डिजिटल नेपाल निर्माणतर्फको प्रभावकारी कदम भएको बताएको छ।








