रास्वपा–विवेकशील एकता प्रक्रियामा नक्खुबाट रविको विशेष सन्देस

Author ImageEcoecopolitics Desk६ महिना अगाडि
Image of रास्वपा–विवेकशील एकता प्रक्रियामा नक्खुबाट रविको विशेष सन्देस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विवेकशील साझाबाट रास्वपासँग एकता प्रक्रियामा जोडिएका नेता तथा कार्यकर्तालाई तीन विशेष सन्देश पठाएका छन्। आइतबार आयोजित कार्यक्रममा उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले नक्खु कारागारमा रहेका सभापति लामिछानेको सन्देश वाचन गर्दै नवआगन्तुकहरूलाई न्यानो स्वागत व्यक्त गरे। उनले अब दुवै पक्ष एउटै राजनीतिक परिवार भएर अघि बढ्ने बताएका छन्।

वाग्लेले लामिछानेको दोस्रो सन्देश सुनाउँदै भने, ‘हिजोसम्म हामी पाउना थियौँ होला, तर आजदेखि हामी एउटै परिवार भएका छौँ।’ लामिछानेले एकता प्रक्रियामा सहभागी भएकाहरूलाई स्थायी सहकार्य र संयुक्त यात्राको भावना बोकेर अघि बढ्न आग्रह गरेको वाग्लेले बताए।

तेस्रो सन्देशमा लामिछानेले दुवै पक्षलाई केही समय ‘कुलिङ पिरियड’ लिएर विश्राम गर्न अनुरोध गरेका छन्। उनले मिडियाको सनसनीपूर्ण वातावरण, भ्यूज र टीआरपीतिर नलाग्न चेतावनी दिँदै, विवादास्पद अभिव्यक्ति वा ट्रोल बन्ने जोखिमबाट बच्न सुझाव दिएका छन्। लामिछानेका अनुसार अनावश्यक मिडिया प्रतिक्रिया एकताको मूल उद्देश्यलाई विचलित गर्न सक्छ, त्यसैले संयमित र एकीकृत रूपमा अघि बढ्न जरुरी छ।