डेडिकेटेड फिडर विवादः उद्योगहरूले दोस्रो किस्ता तिर्न थाले, चार थप उद्योगले बुझाए रकम

Author ImageEcoecopolitics Desk८ महिना अगाडि
Image of डेडिकेटेड फिडर विवादः उद्योगहरूले दोस्रो किस्ता तिर्न थाले, चार थप उद्योगले बुझाए रकम

नेपाल विद्युत् प्राधिकरणसँगको डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू धमाधम दोस्रो किस्ता बुझाउन थालेका छन्। प्राधिकरणका अनुसार आज थप चार उद्योगसहित ६ उद्योगले दोस्रो किस्ताको रकम तिरेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोग गर्दै पहिलो किस्ता तिरेका उद्योगमध्ये अशोक स्टील, हुलास स्टील र हामा स्टीलले दोस्रो किस्ताको रकम बुझाइसकेका छन्।

• अशोक स्टील: ६३ लाख रुपैयाँ

• हुलास स्टील: ५० लाख ४३ हजार रुपैयाँ

• हामा स्टील: २० लाख ८९ हजार रुपैयाँ

यसैगरी शुभश्री अग्नि सिमेन्टले पनि दोस्रो किस्ताबापत ३ लाख ५३ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।

यसअघि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि बक्यौताको दोस्रो किस्ता भुक्तान गरिसकेका छन्। लक्ष्मी स्टीलको कुल बक्यौता १९ करोड ३ लाख रुपैयाँ तथा सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैयाँ रहेको छ।

प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ। गत कार्तिकमा बक्यौता नतिरेको भन्दै २५ उद्योगको लाइन काटिएपछि उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए।

उच्च तहमा पहिलो किस्तालाई ‘धरौटी’ मानेर पुनरवलोकनमा जाने सहमति भए पनि प्राधिकरणले प्रशासनिक पुनरवलोकन सुरु नगरी किस्ता असुलीलाई नै अगाडि बढाएको छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्म प्रिमियम महसुलबापत ३५ उद्योगको ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो। हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल भइसकेको छ भने अझै ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ।