सालझण्डी–ढोरपाटन सडक: बागलुङ खण्डमा निर्माण ढिलो, अन्तिम म्याद जेठसम्म

Author ImageEcoecopolitics Desk२ हप्ता अगाडि
Image of सालझण्डी–ढोरपाटन सडक: बागलुङ खण्डमा निर्माण ढिलो, अन्तिम म्याद जेठसम्म

तराई र पहाडलाई जोड्ने सालझण्डी–ढोरपाटन सडकखण्डको बागलुङ भागमा निर्माण कार्य ढिलो हुँदा स्थानीय तथा पर्यटकले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। बुर्तिबाङ–फल्लेघर २२ किलोमिटर सडक खण्ड ग्राभेलका लागि २०७८ कात्तिक ५ मा स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौंसँग सम्झौता भएको थियो। २०८० वैशाखभित्र काम सक्नुपर्ने भए पनि हालसम्म ६१ प्रतिशत मात्र प्रगति भएको छ। निर्माण कम्पनीले तेस्रोपटक म्याद थपेर २०८३ जेठसम्मको अन्तिम समयसिमा पाएको छ।

सडक आयोजनाकी सूचना अधिकारी कृष्टिना थापाका अनुसार केही महिना यता सडक फराकिलो बनाउने, नाली निर्माण र ग्राभेल गर्ने काम तीव्र गतिमा भइरहेको छ। उनका अनुसार सुरुबाटै नियमितरूपमा काम भएको भए परियोजना एक वर्षअघि नै सकिन सक्थ्यो। ‘‘हाल मेसिन र कामदार बढाइएकाले जेठभित्र काम सकिन सक्छ,’’ उनले बताइन्। कम्पनीका प्रतिनिधि डालबहादुर कुँवरले पनि हिउँद अघि धेरै काम सम्पन्न गर्नुपर्ने भएकाले अहिले छ वटा ठूला मेसिनसहित काम गरिरहेको बताए।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार लामो समय सडक दुरावस्थामा रहँदा स्थानीय र ढोरपाटन आउने पर्यटक दुबै वर्षौंदेखि हिलो–धुलोको समस्यामा परेका छन्। बागलुङ खण्डमा काम सुस्त हुँदा अन्य जिल्लाभन्दा प्रगति कमजोर रहेको उनले बताए। हाल काम तीव्र भएको देखिँदै आशा पलाएको उल्लेख गर्दै उनले यो सडक ढोरपाटनका उत्पादन बजारमा पु-याउने मुख्य माध्यम भएकाले समयमै स्तरोन्नति अत्यावश्यक रहेको बताए।