३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रमसहित देशभर मनाइँदै

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रमसहित देशभर मनाइँदै

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय र अपाङ्गता क्षेत्रमा सक्रिय संघ–संस्थाले जनचेतनामूलक अभियान, सम्मान कार्यक्रम तथा छलफलसहितका गतिविधि सञ्चालन गरेका छन्। संयुक्त राष्ट्रसङ्घले सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाइँदै आएको हो।

यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ। दिवसले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समानता र समावेशितालाई सुनिश्चित गर्दै सबैको सहभागितामा उन्नत समाज निर्माण गर्नुपर्ने संदेश दिएको छ। नेपालमा पनि सार्वजनिक स्थान, कार्यालय, विद्यालय, सडक, पार्क तथा धार्मिक स्थलहरूमा अपाङ्गता मैत्री संरचना र वातावरण निर्माणको आवश्यकता झनै महसुस भइरहेको छ।

यद्यपि संविधानले अपाङ्गता भएका नागरिकलाई सम्मानजनक जीवन, समान पहुँच र अधिकार सुनिश्चित गरे पनि व्यवहारिक रूपमा ती प्रावधानहरूको पूर्ण कार्यान्वयन हुन सकेको छैन। सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, रोजगार र सार्वजनिक सेवामा पहुँचयोग्यता विस्तार गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई वास्तविक रूपमा समावेशी समाजको अनुभूति गराउने नीति तथा कार्यक्रम प्रभावकारी बनाउनु पर्ने माग गरेका छन्।