साम्पाङको अडान : श्रम संस्कृति पार्टी कुनै दलसँग गठबन्धन गर्दैन
Ecoecopolitics Desk२ महिना अगाडिधरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी निर्वाचनमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन्। बराहक्षेत्रस्थित चक्रघट्टीमा आयोजित आमसभामा सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताउँदै वर्तमान दलहरू जनउत्तरदायी नभएको टिप्पणी गरे।
अध्यक्ष साम्पाङका अनुसार जाति, धर्म र वर्गका आधारमा विभाजित देशलाई एकताबद्ध गर्ने उद्देश्यसहित श्रम संस्कृति पार्टी गठन गरिएको हो। सामाजिक एकता, श्रमको सम्मान र जिम्मेवार राजनीतिक संस्कृतिको विकासलाई आफ्नो प्रमुख एजेन्डा बताउँदै उनले संगठन विस्तारलाई हाल देशभर आक्रामक रूपमा अघि बढाइएको जानकारी दिए।
“जेनजी आन्दोलनपछि ठूला भनिने दल ‘पर्ख र हेर’को अवस्थामै रहेका छन्, तर श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ,” साम्पाङले भने। उनका अनुसार बढ्दो जनविश्वास र समर्थनले श्रम संस्कृति पार्टी अब राष्ट्रिय विकल्पका रूपमा स्थापित भइरहेको छ।








