युवालाई रिमाको आग्रह : ‘दलका होइन, देशका झोला बोक्ने समय आयो’

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of युवालाई रिमाको आग्रह : ‘दलका होइन, देशका झोला बोक्ने समय आयो’

अभिनेत्री रिमा विश्वकर्माले ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा गठन भएको ‘उज्यालो नेपाल पार्टी’मार्फत औपचारिक रूपमा राजनीति प्रवेश गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित घोषणा सभामा आक्रामक भाषणसहित उनले परम्परागत राजनीतिको विकल्प खोज्दै नयाँ यात्राको सुरुआत भएको घोषणा गरिन्।

सम्बोधनका दौरान रिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि कडा रूपमा उत्रिइन्। जेन–जी आन्दोलनतर्फ संकेत गर्दै उनले भनिन्, “प्रधानमन्त्री भएर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने गैरजिम्मेवार नेतृत्व अब देशलाई चाहिँदैन।”

रिमाले घिसिङको नेतृत्व र १८ घण्टे लोडसेडिङ अन्त्यको निर्णयले आफ्नो जीवनमा ठूलो प्रभाव पारेको उल्लेख गरिन्। उनले घिसिङलाई नतिजामुखी र इमानदार नेता भन्दै देशले यस्तै जिम्मेवार नेतृत्व मागिरहेको बताइन्।

युवापुस्तालाई दलगत अन्धभक्तीतिर नलाग्न आग्रह गर्दै उनले भनिन्, “दलका झोला धेरै बोस्यौँ, अब देशका झोला बोकेर अघि बढ्ने बेला हो।” आफ्नो राजनीतिक प्रवेश देश निर्माणका लागि परिणाममुखी अभियानको अडानका साथ भएको उनले स्पष्ट गरिन्।