नेपालमा शिक्षा, स्वास्थ्य र यातायात नि:शुल्क बनाउन सकिन्छ :ऊर्जा मन्त्री कुलमान घिसिङ

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of नेपालमा शिक्षा, स्वास्थ्य र यातायात नि:शुल्क बनाउन सकिन्छ :ऊर्जा मन्त्री कुलमान घिसिङ

ऊर्जा मन्त्री कुलमान घिसिङले नेपालले जलविद्युत र पर्यटनबाट पर्याप्त आम्दानी गर्न सके आधारभूत सेवाहरू—शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात—पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराउन सकिने बताएका छन्। बुधबार उज्यालो नेपाल पार्टी को घोषणा कार्यक्रममा बोल्दै उनले नेपालसँग आर्थिक रुपान्तरण गर्ने क्षमताका प्राकृतिक स्रोत प्रशस्त रहेको बताए।

उनका अनुसार नेपालले आगामी १५–२० वर्षभित्र ५० हजार मेगावाट विद्युत निर्यात गर्ने क्षमता राख्छ, जसबाट वार्षिक ४० देखि ५० खर्ब रुपैयाँसम्म आम्दानी हुन सक्छ। “अहिले नेपालको कुल गार्हस्थ उत्पादन करिब ५० खर्ब छ। यदि विद्युत निर्यातबाट मात्र यत्तिकै रकम कमाउन सकियो भने नागरिकबाट कर लिनै नपर्ने हुन्छ,” उनले भने। त्यति मात्र होइन, यस्तो आम्दानीले आगामी दशकमा सम्पूर्ण नेपालीलाई बिजुली नि:शुल्क दिन सकिने घिसिङको दाबी छ।

लक्जम्बर्ग र माल्टाजस्ता मुलुकलाई उदाहरण दिँदै उनले नेपालमा पनि सार्वजनिक यातायात नि:शुल्क बनाउन सकिने तर्क राखे। “लक्जम्बर्ग जाँदा देखें, त्यहाँ सार्वजनिक यातायात पूर्ण रूपमा फ्री रहेछ। आम्दानीको मुख्य स्रोत पर्यटन रहेछ,” उनले भने, “यदि एउटा सानो देशले पर्यटन आम्दानीले यातायात फ्री गर्न सक्छ भने अथाहा प्राकृतिक स्रोत भएको नेपालले शिक्षा, स्वास्थ्य र यातायात नि:शुल्क उपलब्ध गराउन बिल्कुल सक्छ।”

घिसिङले देशमा पुँजीगत लगानी विस्तार गरिए विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिन सकिने पनि बताए। “हाम्रो देश सुन्दर छ, हावापानी राम्रो छ। यहाँ अवसर सिर्जना गर्न सके खाडी गएका मात्र होइन, युरोप–अमेरिकाका युवाहरू पनि नेपालमै बस्न चाहने वातावरण बन्न सक्छ,” उनले भने। उनका अनुसार राजनीतिक परिवर्तन धेरै भइसकेकाले अब देशलाई समृद्ध बनाउने आर्थिक क्रान्तिमा ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ।