हेटौंडामा वर्षौंदेखि रोकिएको सडक विस्तार पुनः सुरु, घर–टहरा भत्काउन सुरु

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of हेटौंडामा वर्षौंदेखि रोकिएको सडक विस्तार पुनः सुरु, घर–टहरा भत्काउन सुरु

हेटौंडा । लामो समयदेखि रोकिँदै आएको हेटौंडा सडक विस्तारलाई निरन्तरता दिँदै सडक डिभिजन हेटौंडाले शुक्रबार बिहानैदेखि घर–टहरा भत्काउने कार्य सुरु गरेको छ। मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै सडक क्षेत्रमा परेका संरचना हटाउन आग्रह गरेको डिभिजनले म्याद सकिएपछि मेसिन, जनशक्ति र सुरक्षा व्यवस्थासहित विस्तार अभियान अघि बढाएको हो।

विस्तारको काम रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकबाट सामरी पुलसम्म एकसाथ सुरु गरिएको छ। २५ मिटर सडक क्षेत्रभित्र पर्ने घर–टहराहरू क्रमशः हटाइँदै छन्। वैकल्पिक आवागमन मार्गको व्यवस्था मिलाएर राजमार्गमा यातायात नियमित र सहज बनाउन प्रयास भइरहेको सडक डिभिजनले जनाएको छ।

सडक विस्तारका लागि २०३४ सालदेखि पटक–पटक पहल भए पनि स्थानीय विवाद, राजनीतिक हस्तक्षेप र व्यवस्थापनका कमीका कारण काम अघि बढ्न सकेको थिएन। यसपटक पनि केही घर नहटाउने मागसहित रास्वपाकी पूर्व समानुपातिक सांसद बिन्दबासिनी कंसाकारसहित केही व्यक्तिहरू विरोधमा उत्रिएका थिए। तर शुक्रबार दिउँसो ३ बजेसम्म कुनै आधिकारिक पत्र नआएको र कानुनी प्रक्रिया पूरा भएकाले विस्तार नरोकिने सडक डिभिजनले स्पष्ट गरेको छ।

सडक डिभिजनका अधिकारीहरूका अनुसार, अब काम अवरुद्ध नहुने र निर्धारण गरिएका क्षेत्रभित्रका सबै संरचना हटाएर परियोजना तीव्र गतिमा अघि बढाइनेछ। विस्तार सम्पन्न भएपछि हेटौंडाको मुख्य सहर क्षेत्रमा यातायात सहज हुने, भीडभाड व्यवस्थापनमा सहयोग पुग्ने र सम्पूर्ण नगरको यातायात प्रणाली आधुनिक बन्ने अपेक्षा गरिएको छ।