एमाले ११औँ महाधिवेशन : सचिवमा ओली–पोखरेल टिमभित्र चर्को प्रतिस्पर्धा

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of एमाले ११औँ महाधिवेशन : सचिवमा ओली–पोखरेल टिमभित्र चर्को प्रतिस्पर्धा

नेकपा एमालेको आसन्न ११औँ महाधिवेशन नजिकिँदै गर्नेबित्तिकै पार्टीभित्र पदाधिकारी दाबी–दाबेदारी असाधारण रूपमा बढेको छ । विशेषगरी सचिव पदका आकांक्षीहरू यतिबेला देशभरका महाधिवेशन प्रतिनिधिसँग फोनमै ‘भोट सेट’ गर्न व्यस्त देखिन्छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलको टिममा विभाजन झन् स्पष्ट बन्दै जाँदा सचिव पद अझै पेचिलो बनेको छ ।

कोशी :पाँच–पाँच दाबीदार, ओलीकै टिमभित्र ‘आन्तरिक धक्का’

सबैभन्दा ठूलो भिडन्त कोशी प्रदेशमा देखिएको छ । यहाँ सचिव पदका लागि हिक्मत कार्की, शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम र विनोद ढकाल—पाँच जनाले खुलेर दाबी गरिरहेका छन् ।

कार्की–राईबीचको प्रतिस्पर्धा यति चर्को कि ओलीले एकलाई अघि सार्दा अर्को बिच्किने खतरा पार्टीभित्र खुलेर चर्चा हुने विषय बनेको छ । भानुभक्त ढकाल काठमाडौंस्थित ‘ओली सर्कल’मा सक्रिय छन् भने प्रचार विभाग सम्हाल्दै आएका गौतम पनि ओलीकै लाइनमा उभिएका छन् । विनोद ढकाल भने अचेल भण्डारी–पोखरेल समूहमा देखिएका छन्, जसले कोशीको समीकरण झन् जटिल बनाइदिएको छ ।

बागमती : बस्नेत–ढुंगेल र खड्का–बाँस्कोटा

बागमतीमा सचिवको प्रतिस्पर्धा दुई शक्तिशाली टिमबीच घुमिरहेको छ—ओली समूहबाट महेश बस्नेत र माधव ढुंगेल, पोखरेल समूहबाट रचना खड्का र गोकुल बाँस्कोटा ।

विशेषगरी बस्नेतले ‘गुण्डु–सेफहाउस प्रबन्ध’ मार्फत ओलीको विश्वास जितेका कारण उनलाई उच्च प्राथमिकतामा राखिएको चर्चा छ । यो प्रदेशमा अन्तिम क्षणसम्म रोचक ‘टसल’ हुने निश्चित देखिन्छ ।

गण्डकी : अधिकारी–अर्याल–गुरुङ त्रिकोण

गण्डकीमा खगराज अधिकारी, पद्मा अर्याल र पृथ्वीसुब्बा गुरुङबीच त्रि–आयामिक प्रतिस्पर्धा देखिएको छ । अर्याललाई सचिवमा निरन्तरता दिने इच्छा, गुरुङलाई पनि समेट्नुपर्ने दबाब, अनि अधिकारीको दीर्घकालीन ‘ओली नजिक्यता’—यी कारण गण्डकी ओलीका लागि सबैभन्दा कठिन ‘व्यवस्थापन क्षेत्र’ बन्न पुगेको छ ।

 

मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम : छुट्टै समीकरण

मधेश : ज्वालाकुमारी साह सचिवकोप्रमुख दाबीदार, ओली पनि उनीप्रति सकारात्मक।

लुम्बिनी : रामकुमारी झाँक्रीको नामबाहिर आए पनि पदका ग्यारेन्टी नगर्ने ओलीको रणनीतिले द्विविधा बढाएको छ ।

कर्णाली : मुख्यमन्त्री यामलाल कँडेल र गोरख बोगटीबीच‘दाबी–प्रतिदाबी’ तीव्र ।

सुदूरपश्चिम : कर्णबहादुर थापा, दामोदर भण्डारी र नारदमुनि रानासबै सचिवको आकांक्षामा, तर वास्तविक खेल थापा–भट्ट–भण्डारी त्रिकोणमा केन्द्रित ।

अन्तिम रातको समीकरणले बनाउनेछ सचिवीय टिम

सबै प्रदेशमा देखिएको चर्को प्रतिस्पर्धाले एमाले महाधिवेशनमा सचिव पद ‘सबैभन्दा हेडलाइन–बनाउने’ पद बन्न पुगेको छ ।

ओली–पोखरेल दुवै पक्षले अन्तिम रातसम्म ‘सेटलमेन्ट राजनीति’ गर्ने निश्चित छ । तर कसलाई अघि सारिन्छ ? कसलाई रोकियो ? कसले कुन पक्ष त्याग्छ ?—यी सबै प्रश्नले महाधिवेशनको तापक्रम झन् बढाइरहेका छन् ।