नवलपुरमा एकैदिन नौ मृग मृत फेला, विषादी सेवनको आशंका
Ecoecopolitics Desk४ महिना अगाडि
नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा नौ वटा मृग मृत अवस्थामा फेला परेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार किसानले तोरी खेतमा छरेको विषादी खाँदा मृग मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मरेका मृगहरूको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएकाले विषादी सेवन मुख्य कारण हुनसक्ने निकुञ्जको भनाइ छ।
मृगको मृत्युबारे यथार्थ थाहा पाउन पोस्टमार्टम गरी नमुना काठमाडौँको विधि विज्ञान प्रयोगशाला पठाइएको छ। रिपोर्ट आउन चार–पाँच दिन लाग्ने बताइएको छ। मरेका मृगमध्ये एउटा बच्चा पनि रहेको सचिव रामकृष्ण अधिकारीले जानकारी दिए। केही समयअघि कृषकले काउलीमा अत्यधिक विषादी प्रयोग गरेको पनि फेला परेकाले तोरीमा समेत त्यस्तै समस्या दोहोरिएको हुनसक्ने आशंका गरिएको छ।
निकुञ्ज क्षेत्रको तारबार भत्किएपछि मृग खेतमा प्रवेश गर्दै आएको स्थानीयको भनाइ छ। बाघको डरले मृग गैँडासँगै हिँड्ने गरेका कारण गैँडा आउने ठाउँतिर पनि मृग घुम्ने गरेको अधिकारीले बताए। तीन वर्षअघि पनि यही क्षेत्रमा १५ मृग मरेका थिए।








