हिंसालाई क्रान्ति भन्न सकिँदैन’ — आगजनी–तोडफोड विरुद्ध अध्यक्ष ओलीको कडा विरोध
Ecoecopolitics Desk१ हप्ता अगाडि
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक र अवैध ठहर गर्दै तीव्र आलोचना गरेका छन् । एक कार्यक्रममा बोल्दै उनले सरकार गठनको प्रक्रियामै गम्भीर त्रुटि भएको दाबी गर्दै यो सरकार लोकतन्त्रको मूल मान्यताविपरीत बनेको टिप्पणी गरे ।
ओलीले जनताबाट प्राप्त जनादेशलाई सम्मान नगरी सत्ता कब्जा गर्ने प्रवृत्तिले लिगलिगेकोटको परम्परालाई पनि बेकामे बनाएको तर्क गरे । उनले भने, “जनताले मतदान दिएर प्रतिनिधि छान्छन्, त्यसपछि मात्र शासनको अधिकार हुन्छ । यहाँ त दौडनै नपुगेकामानिसहरू कुर्सी समातेर आफूलाई शासक घोषणा गर्छन् । यो त लोकतन्त्रको उपहास हो ।”
अनधिकृत सरकारको सिफारिसमा संसद् विघटन भएको आरोप
अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनसमेत अनधिकृत सरकारको सिफारिसमा भएको दाबी गर्दै यसलाई “लोकतन्त्रको उपहासभन्दापनि हदैसम्मको मजाक” भनेका छन् । उनले प्रतिगमन अन्त्य गर्दै संविधानलाई पुनः सही मार्गमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।
नेपाली पासपोर्टले विदेशमा विश्वसनीयता गुमाउँदै’
ओलीले विदेशमा नेपाली पासपोर्टको छवि कमजोर बन्दै गएको आरोप पनि लगाए । उनका अनुसार हाल धेरै देशहरू नेपाली नागरिकलाई भिसा दिन हिचकिचाइरहेका छन् ।
“विदेशमा ‘नेपाली हुँ’ भन्न पनि मुस्किल भइरहेको छ । ‘तिमीहरू आफ्नै घरमा आगो लगाउने होइनौ ?’ भन्ने प्रश्न उठ्छ,” उनले भने । ओलीले देशभित्र भइरहेका तोडफोड, आगजनी तथा हिंसात्मक गतिविधिले अन्तर्राष्ट्रिय प्रतिष्ठामा नकारात्मक असर परेको बताए ।
हिंसा क्रान्ति होइन : ओली
हिंसा, आगजनी र तोडफोडलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्न नहुने स्पष्ट गर्दै ओलीले भने, “यो न क्रान्ति हो, न प्रतिक्रान्ति । हिंसाकुनै हालतमा परिवर्तनको माध्यम हुन सक्दैन ।”
उनले शान्ति, स्थिरता र संवैधानिक मार्गबाट मात्र देश अगाडि बढ्न सक्ने निष्कर्ष प्रस्तुत गरे ।



.jpeg)



