अध्यक्ष सुनारको आरोप– ‘जेनजी आन्दोलनमा आगजनीको निर्देशन गगन थापाबाट’

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of अध्यक्ष सुनारको आरोप– ‘जेनजी आन्दोलनमा आगजनीको निर्देशन गगन थापाबाट’

नख्खु कारागारमा पक्राउ परेका रवि लामिछानेलाई भेटेर फर्किएका हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस कार्यालयदेखि नेताका घरसमेत जलाउने नेतृत्व कांग्रेस नेता गगन थापाले गरेको दाबी गरेका छन्। उनले घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सुनारका अनुसार, जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र सार्वजनिक तथा निजी संरचनामा गरिएको क्षतिको मूल योजनाकार स्वयं गगन थापा भएको आरोप गम्भीर ढंगले उठेकाले impartial (निष्पक्ष) छानबिन आवश्यक छ।

उनले भने, “जनतामाथि दमन हुँदा उठेका युवाहरूलाई फसाइयो तर निर्देशन दिने राजनीतिक शक्तिहरू ओझेलमा पारिए।अनुसन्धानले वास्तविक नेतृत्वको पहिचान गर्नैपर्छ।”

सुनारले रवि लामिछानेमाथि लगाइएको आरोपलाई कांग्रेस र एमालेको मिलेमतोमा गरिएको ‘राजनीतिक प्रतिशोध’ भनेका छन्। उनका अनुसार, लामिछानेलाई तथ्य, प्रमाण र न्यायिक मर्यादाविपरीत फसाउने प्रयास भइरहेको छ।

उनले जोड दिए, “रविमाथि गरिएको कारबाही केवल कानुनी नभई राजनीतिक फसावटको रणनीति जस्तो देखिन्छ। कांग्रेस–एमालेगठजोडले लागेको आरोप स्वतन्त्ररुपमा पुनः परीक्षण हुनुपर्छ।”

सुनारले सरकार, संसद् र मानवअधिकार निकायलाई घटनाको सम्पूर्ण पृष्ठभूमि सार्वजनिक गर्न, जिम्मेवार व्यक्तिहरूको नाम खुलासा गर्न र निर्दोष युवाहरूलाई रिहा गर्न आग्रह गरेका छन्।

यसैबीच, जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको क्षति, आगजनी, तोडफोडबारे छानबिन समिति गठन गर्ने विषयमा सरकारभित्र छलफल जारी रहेको स्रोतले जनाएको छ।