आज विश्वभर पर्वत दिवस मनाइँदै, दिगो पर्वतीय विकासमा सहकार्यको आग्रह

Author ImageEcoecopolitics Desk५ दिन अगाडि
Image of आज विश्वभर पर्वत दिवस मनाइँदै, दिगो पर्वतीय विकासमा सहकार्यको आग्रह

हिमनदी पग्लँदा पहाड तथा पर्वतीय क्षेत्रमा बसोबास गर्ने समुदायको जीवन, वातावरण र विकासमा गम्भीर असर परिरहेको सन्देशसहित आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदैछ। पर्वतीय समुदायको सुरक्षा, जलस्रोतको संरक्षण तथा दिगो विकासका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको यो दिवसले स्मरण गराउने गर्दछ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि प्रत्येक वर्ष डिसेम्बर ११ मा पर्वत दिवस मनाइँदै आएको हो। रोमस्थित **राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)**को मुख्यालयमा यस वर्ष पनि पर्वतीय जीवन, हिमनदी र वातावरण संरक्षण सम्बन्धी प्रवचन, प्रदर्शनीसहित विविध कार्यक्रम आयोजना भइरहेका छन्।

राष्ट्रसंघका अनुसार विश्वका दुई अर्बभन्दा बढी जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन्। तर पछिल्ला वर्षहरूमा द्रुत गतिमा हिमनदी पग्लिंदै गएपछि जलस्रोत नै जोखिममा परेको चेतावनी दिइएको छ। विश्व तापक्रम बढ्ने क्रम जारी रहँदा अझ धेरै हिमनदी नष्ट हुने प्रक्षेपण गरिएको छ।

यसबाहेक, विश्वभर १ करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदी पग्लेर बनेका ताल फुट्ने जोखिम (GLOF) का कारण अत्यधिक संवेदनशील अवस्थामा रहेका छन्। यी जोखिमबारे सचेत गराउँदै पर्वतीय संरक्षण, दिगो विकास र सुरक्षित भविष्य निर्माणका लागि सहकार्य आवश्यक रहेको सन्देशसहित यस वर्षको पर्वत दिवस मनाइएको हो।

यो दिवसले पर्वतीय क्षेत्रको महत्व, चुनौती र विकासका सम्भावनालाई विश्वभर उजागर गर्दै वातावरण संरक्षणमा सबै देशको साझा प्रतिबद्धता आवश्यक रहेको पुनः जोड दिएको छ।