एमाले ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा भव्य उद्घाटन हुने

Author ImageEcoecopolitics Desk३ दिन अगाडि
Image of एमाले ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा भव्य उद्घाटन हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा नेपालको एकता, कला र संस्कृतिको झल्को दिने २०० भन्दा बढी झाँकी प्रदर्शन गरिने तयारी छ । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १६ वटा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टी प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको एमालेले जनाएको छ ।

महाधिवेशनलाई शान्तिपूर्ण र भयरहित बनाउन २४ वटा जनसंगठनको सहभागितामा ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’ सहित खटाइनेछ भने १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूप मानेर उपत्यकाका प्रमुख मन्दिरहरू झल्किने गरी भव्य र कलात्मक मञ्च निर्माण गरिएको छ ।

मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन, ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम र २५ हजार कुर्सीको व्यवस्था गरिएको छ । उद्घाटनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत विद्युतीय पाला बालेर तथा ११ मध्ये एक झन्डा फहराएर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । सहभागी सवारी साधनका लागि गठ्ठाघर र जगाती क्षेत्रमा पार्किङ तथा उद्घाटनअघि भव्य र्‍यालीको व्यवस्था गरिएको छ