एनपीएल दोस्रो संस्करणको फाइनल आज, सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि आमनेसामने

Author ImageEcoecopolitics Desk३ दिन अगाडि
Image of एनपीएल दोस्रो संस्करणको फाइनल आज, सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि आमनेसामने

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यस्तै, लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि भिडन्त सुनिश्चित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधिको बलियो दाबेदार मानिएको छ। गत संस्करणको फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ।

उता, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको भए पनि यसपटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेको हो। लुम्बिनी पनि जसरी भए पनि पहिलो एनपीएल उपाधि जित्ने लक्ष्यमा छ।

लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो हुने टोलीलाई २५ लाख र चौथो टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही १ मंसिरदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।