एमाले महाधिवेशनपछि नेतृत्व चयनको रस्साकस्सी, दुवै पक्ष टिम बनाउने कसरतमा
Ecoecopolitics Desk२ दिन अगाडि
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै नयाँ नेतृत्व चयनका लागि दुवै पक्ष आ–आफ्नो टिम बनाउन सक्रिय भएका छन्। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूह र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह आन्तरिक छलफलमा जुटेका छन्।
अध्यक्ष ओलीनिकट नेताहरूका अनुसार भक्तपुरको गुण्डुमा संस्थापन पक्षका शीर्ष नेताहरू घनिभूत छलफलमा छन्। छलफलमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन्। पदाधिकारी संख्या नबढ्ने लगभग निश्चित भएपछि अधिकांश पुरानै पदाधिकारीहरू दोहोरिने सम्भावना बलियो बनेको छ।
स्रोतका अनुसार अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिनेछन्। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ र गुरू बराल दोहोरिने सम्भावना छ। महासचिवमा शंकर पोखरेल नै पुनः उम्मेदवार बन्ने संकेत देखिएको छ। यद्यपि प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा दाबी छाडेका छैनन्। तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल दोहोरिने सम्भावना छ।
सचिवतर्फ पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्ट दोहोरिने सम्भावना रहेको बताइन्छ। बाँकी सचिव पदका लागि भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल र गोरख बोगटीबीच प्रतिस्पर्धा छ। अन्ततः ढकाल, बस्नेत तथा कँडेल र बोगटीमध्ये एक जना चयन हुन सक्ने अनुमान गरिएको छ।
यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि आफ्नो टिम टुंग्याउन छलफलमा जुटेको छ। पोखरेल समूहबाट योगेश भट्टराई उपमहासचिवमा उठ्ने पक्का भएको छ। महासचिवमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टमध्ये एक जना उम्मेदवार बन्ने र अर्का उपाध्यक्षमा सेट हुने सम्भावना छ। सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डेलगायत आकांक्षी छन्।
पदाधिकारीको आकार नबढ्दा असन्तुष्ट नेताहरू बढ्न सक्ने देखिएपछि दुवै पक्ष असन्तुष्ट तान्ने कसरतमा छन्। ओलीनिकट नेताहरूका अनुसार आजभोलि नै केही नेताहरू खुलेर आ–आफ्नो पक्ष घोषणा गर्ने सम्भावना प्रबल बन्दै गएको छ।







