अन्तरिम सरकार निर्वाचनपछि सत्ता हस्तान्तरण गर्न आतुर : प्रधानमन्त्री कार्की

Author ImageEcoecopolitics Deskएक दिन अगाडि
Image of अन्तरिम सरकार निर्वाचनपछि सत्ता हस्तान्तरण गर्न आतुर : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सुशासन र निर्वाचन अन्तरिम सरकारका मुख्य एजेन्डा रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति बनेको उल्लेख गर्दै आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सरकार अहोरात्र खटिएको बताइन्। निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ,’ उनले भनिन्, ‘संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा मुलुकलाई सुरक्षित रूपमा अघि बढाउने एकमात्र विकल्प निर्वाचन नै हो।’ उनले निर्वाचन सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट हातेमालो गर्न आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि प्रकारको अराजकता स्वीकार्य नहुने उल्लेख गर्दै शान्ति खल्बल्याउने, कानून हातमा लिने तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन्। साथै, खराब तत्वको प्रतिरोधमा समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो।