एमाले नयाँ नेतृत्व चयन: मतदान रातभरि चल्ने,

Author ImageEcoecopolitics Deskएक दिन अगाडि
Image of एमाले नयाँ नेतृत्व चयन: मतदान रातभरि चल्ने,

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान रातभरि चल्ने भएको छ। एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार बुधबार साँझ ५ बजेर २ मिनेटसम्म ८०२ जनाले मतदान गरिसकेका छन्। प्रतिघन्टा करिब सय जनाले मतदान गरिरहेकाले कुल २,२६३ जना महाधिवेशन प्रतिनिधिको मतदान सकिन करिब २२ घन्टा लाग्ने अनुमान गरिएको छ। मतदान एक पटकमा ५० जनालाई पठाएर भइरहेको छ भने लामो समय लाइनमा उभिनु नपरोस् भनेर टोकन प्रणाली लागू गरिएको छ।

पोखरेलले सुरुमा प्रतिव्यक्ति २०–२५ मिनेटमै मतदान सकिने अनुमान गरिएको भए पनि व्यवहारमा समय धेरै लागेको बताए। नामसूची हेरेर मत खसाल्नुपर्ने, प्राविधिक जटिलता र मतदाताको चापका कारण मतदान ढिलाइ भएको उनको भनाइ छ। एक जनालाई न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घन्टासम्म लागेको र लामो समय उभिनु परेकाले केही प्रतिनिधि बेहोससमेत भएको उनले जानकारी दिए। जारी महाधिवेशनमा १९ जना पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान भइरहेको छ, जसमा उम्मेदवार संख्या ६२२ छ।

मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले मतदान ढिलाइ हुनुका तीन मुख्य कारण औँल्याए। अन्तिम समयमा विधान संशोधन गरी पदाधिकारी १५ बाट १९ र केन्द्रीय कमिटी २५१ बाट ३०१ पुर्‍याउँदा भोटिङ मेसिनको सेटिङ परिवर्तन गर्नुपरेको, अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै प्यानलका सूची बोकेर मतदाता मतदानमा जानु, तथा यसपटक सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था लागू हुनु प्रमुख कारण रहेको उनले बताए। मतदान सकिएपछि मतगणनामा ३–४ घन्टा लाग्ने र सबै प्रक्रिया बुधबार बिहान करिब ७ बजेसम्म सकिने अनुमान गरिएको छ।