निर्वाचनको वातावरण बनाउन सरकार असफल : नेता कोइराला
Ecoecopolitics Desk६ महिना अगाडि
विराटनगर, बुधबार — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा रहे पनि सरकारले त्यसअनुकूलको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार गठन भएदेखि नै संविधान ‘ट्र्याक बाहिर’ गएको दाबी गरे। फागुन २१ गते निर्वाचन नभए देश झन् ठूलो संवैधानिक संकटतर्फ जाने चेतावनी दिँदै कांग्रेसले समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै आएको उनले बताए।
तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुँदै जाने कोइरालाको भनाइ छ।
अर्को प्रसङ्गमा उनले आगामी महाधिवेशनमा आफू नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार बन्ने विषयमा ढुक्क रहन आग्रह गरे। साथै, पार्टी विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार बन्न नमिल्ने स्पष्ट पारे।
नेता कोइरालाले तोकिएको समयमै कांग्रेसको महाधिवेशन हुनुपर्ने धारणा पनि व्यक्त गरे।








