दरबारमार्ग जग्गा लिज काण्डः ‘अन्तिम सम्झौतामा मेरो कुनै भूमिका थिएन’ — भीमप्रसाद उपाध्याय
Ecoecopolitics Desk१५ घण्टा अगाडि
काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा भएको अनियमितता प्रकरणमा तत्कालीन सचिव भीमप्रसाद उपाध्यायले मुख्य आर्थिक कागजातमा आफ्नो हस्ताक्षर नरहेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा दिएको बयानमा उनले रकम उल्लेख भएको पाना पछि थपिएको (इन्सर्ट गरिएको) हुन सक्ने आशंका व्यक्त गरेका हुन्।
उपाध्यायका अनुसार कागजातको पेज नं. २५ मा ‘लिस्ट अट्याच्ड’ लेखी प्रस्तावकको हस्ताक्षर भए पनि १ अर्ब ४० करोड रुपैयाँ उल्लेख भएको पेज नं. २६ मा न नेपाल ट्रस्टको छाप छ, न त आफ्नो हस्ताक्षर। “अन्य सबै पानामा कार्यालयको छाप र आठ जनाको हस्ताक्षर छ, तर रकम उल्लेख भएको पानामा थामसेर्कुको मात्र छाप छ र पछाडि सात जनाको मात्र हस्ताक्षर देखिन्छ,” उनले बयानमा उल्लेख गरेका छन्। यसले उक्त पाना पछि फेरिएको वा थपिएको हुन सक्ने उनको जिकिर छ।
आफू २०७३ असोजमै सरुवा भइसकेको र थामसेर्कुसँगको अन्तिम सम्झौता २०७४ जेठमा मात्र भएको उल्लेख गर्दै उपाध्यायले अन्तिम सम्झौता र कार्यान्वयन प्रक्रियामा आफ्नो भूमिका नरहेको बताएका छन्। “मेरो कार्यकालमा टेन्डर प्रक्रिया सुरु भएको हो, तर कार्यान्वयनमा लैजाँदा म त्यहाँ थिइनँ,” उनले स्पष्ट पारे।
उपाध्यायले आफ्नो कार्यकालमा तयार भएको टेन्डर डकुमेन्ट र पछि भएको सम्झौतामा जग्गाको क्षेत्रफलसमेत फरक परेको दाबी गरेका छन्। उनका अनुसार २०७२ असोजमा प्रकाशित टेन्डरमा कित्ता नं. ४६०६ को १ रोपनी १४ आना जग्गा मात्र उल्लेख थियो, तर २०७४ जेठ १४ मा भएको सम्झौतामा कित्ता नं. ४६०५ समेत थपिएको देखिन्छ। आफू सरुवा भइसकेपछि जग्गा कसरी थपियो भन्ने जानकारी त्यसबेलाका जिम्मेवार अधिकारीहरूसँग हुनुपर्ने उनले बताएका छन्।





.jpeg)


