आज विश्व ध्यान दिवस मनाइँदै

Author ImageEcoecopolitics Desk३ महिना अगाडि
Image of आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने निर्णय गरेसँगै नेपालमा पनि विविध कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्य प्रवर्द्धनका लागि उपयोगी तथा पूरक उपायका रूपमा स्वीकार गरेको जनाएको छ। मानसिक शान्ति, तनाव व्यवस्थापन र समग्र स्वास्थ्य सुधारमा ध्यानको भूमिकालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही वर्ष नेपालमा पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो।

यस वर्ष पनि नेपाल सरकारको आयोजनामा राजधानीसहित विभिन्न स्थानमा ध्यान, योग तथा सचेतनामूलक कार्यक्रम गरी विश्व ध्यान दिवस मनाइँदै छ।