कार्यसम्पादन समितिबाटै कांग्रेसको समानुपातिक उम्मेदवार टुंग्याइँदै
Ecoecopolitics Desk७ महिना अगाडि
काठमाडौँ — नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवार कार्यसम्पादन समितिकै बैठकबाट टुंग्याउने निर्णय गरेको छ। संसदीय बोर्डमार्फत उम्मेदवार चयन गर्ने परम्परा रहे पनि समय अभावका कारण यसपटक कार्यसम्पादन समितिबाटै सूची अन्तिम रूप दिन लागिएको हो।
कांग्रेसका एक पदाधिकारीका अनुसार पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने भएकाले पार्टी तयारीमा जुटिसकेको छ। शनिबार र आइतबार दुई दिन बैठक बसेर कार्यसम्पादन समितिबाटै उम्मेदवार तय गर्ने तयारी गरिएको उनले बताए।
यसअघि लगातार तीन दिनसम्म कार्यसम्पादन समितिको बैठक बसिसकेको छ। आगामी बैठकहरूले समानुपातिक उम्मेदवारको सूची टुंग्याउनेसँगै पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पछाडि सार्ने विषयमा पनि निर्णय लिने बताइएको छ।








