राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता
Ecoecopolitics Desk४ हप्ता अगाडि
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने तय गरेको छ। यस निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुने कुल १८ सदस्य चयन गरिनेछ।
आयोगका अनुसार उम्मेदवारको मनोनयन पत्र आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गर्न सकिनेछ। यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मंगलबार दाबी–विरोधको यकिनपछि अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ।
निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ। यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ। राष्ट्रियसभामा फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ।
निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।








