गगन थापा: फरक मतकै कारण विमलेन्द्र निधिमाथि भएको दुव्र्यवहार निन्दनीय
Ecoecopolitics Desk३ महिना अगाडि
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिप्रति भएको व्यवहार गलत र निन्दनीय भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै महामन्त्री थापाले फरक मत राखेकै कारण कुनै पनि नेतामाथि दुव्र्यवहार हुनु प्रजातान्त्रिक मूल्य–मान्यताविपरीत हुने स्पष्ट पारे। उनले यस विषयमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग आफू सहमत रहेको पनि उल्लेख गरे।
थापाले लेखेका छन्, “आज पार्टी कार्यालय बाहिर आदरणीय नेता विमलेन्द्र निधिप्रति भएको व्यवहार गलत छ। असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ र फरक मत राख्नेको सम्मान गर्छ। यदि उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने त्यो झनै निन्दनीय छ।”
महामन्त्री थापाले नेपाली कांग्रेसभित्र परिवर्तनको आवश्यकता स्वीकार गर्दै विधि, विधान र प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि परिवर्तन सम्भव नहुने बताए। उनले पार्टीका शुभेच्छुक, कार्यकर्ता र नेताहरूलाई प्रक्रियामै विश्वास गर्न आग्रह गरे।
हामी सबै परिवर्तन चाहन्छौँ, तर विधि, विधान र प्रक्रिया बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ,” उनले भने।
यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पनि नेता निधि पार्टी कार्यालय पुग्ने क्रममा भएको व्यवहार पूर्णतः गलत भएको भन्दै यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।








